टिम चौराहाको लगातार तेस्रो हार, प्लेअफमा पुग्ने सम्भावना न्युन

पारस खडकाको कप्तानीमा रहेको धनगढी टिम चौराहाले धनगढी प्रिमियर लिगमा लगातार तेस्रो हार ब्यहोरेको छ । आज भएको खेलमा सिवाइसी अत्तरीयासंग ४० रनले पराजित भएको धनगढीको प्लेअफमा पुग्ने सम्भावना अरु टिमको हातमा रहेको छ ।

धनगढी स्थित एसएसपी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अत्तरीयाले २० ओभरमा चार विकेट गुमाउदै एक सय ४२ रन बनायो । मध्यम सुरुवात गरेको अत्तरीयाले पहिलो विकेटका लागि ३० रनको साझेदारी गरेको थियो । त्यसपछि दोस्रो विकेटका लागि प्रदिप ऐरी र रोशन नेपालीले ४६ रनको साझेदारी गर्दै टिमलाई अगाडी बढाए । उसका लागि दिलिप नाथले १३ तथा रोशनले ३२ रनको योगदान गरे । यस्तै ब्याटिङ अडरमा माथिल्लोक्रममा आएका प्रदिपले २६ रन जोडे । ९५ रन हुदा चार विकेट गुमाएको अत्तरीयाका लागि करण केसी र योगेन्द्रसिंह कार्कीले पाचौ विकेटका लागि ४७ रनको साझेदारी गर्न सफल भए । करणले २५ र योगेन्द्रले २७ रन बनाए । बलिङ तर्फ सौरभ खनालले दुई विकेट लिए ।

जवाफमा धनगढी २० ओभरमा नौ विकेट गुमाउदा एक सय दुई रनमा समेटियो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके । ६ रनमा पहिलो विकेट गुमाएको धनगढीले ३३ रन बनाउदा पाच विकेट खेर फालेको थियो । तर उसको विकेट झर्ने क्रम यतिमा रोकिएन । ३८ रन हुदा सात विकेट गुमाएको धनगढीको पारीलाई सौरभ खनाल र रामनरेश गिरीले उकास्ने प्रयास गरेपनि सफल भएनन । उनिहरुले आठौ विकेटका लागि ५३ रनको साझेदारी गरेका थिए । जसमा रामनरेशले ३९ तथा सौरभले २३ रन बनाए । यस्तै अनिल मण्डलले १९ रन जोडे । उसका पाच खेलाडीले खाता खोल्न सकेनन । धनगढीलाई कम स्कोरमा रोक्न सुरेन्द्र चन्द र महबुब आलमले तीन तीन विकेट लिए । अब धनगढीलाई प्लेअफमा पुग्न बाकि दुई खेल जित्नुका साथै अन्य टिमको नतिजामा भर पर्नेछ ।

Comments:

comments

Latest News