धनगढी प्रिमियर लिग, च्यारिटी खेलमा नेपाल एघार ३१ रनले विजयी

धनगढी प्रिमियर लिगको उदघाटन खेलका रुपमा रहेको नेपाल ११ धनगढी ११ च्यारिटी खेलमा नेपाल एघार ३१ रनले विजयी भएको छ ।

धनगढीको सेती अञ्चल प्रहरीको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ११ ले २० ओभरमा आठ विकेट गुमाउदै एक सय ६१ रन बनायो । एक रन हुदा दुई विकेट गुमाएको नेपाल ११ को तेस्रो विकेटका लागि पारस खडका र बसन्त रेग्मीले ८२ रनको साझेदारी गर्दै पारी सम्हाले । बसन्तले ४३ रन बनाए भने पारसले ६८ रन हिर्काए । करीव एक महिना पछि मैदानमा फर्किएका पारसले उत्कृष्ट कमब्याक गरे । उनले ४४ बलमा सात चौका र चार छक्का प्रहार गरेका थिए । एक सय ४६ रन हुदा पाचौ विकेट गुमाएको नेपाल ११ ले थप सात रन जोडदा छैटौ विकेट खेर फाल्यो ।

शरद भेषवाकरले १९ रन बनाउदा विनोदले खाता खोल्न पाएनन । त्यसपछि महबुब आलम पनि १० रनमा रनआउट हुदा राष्ट्रिय टिमले एक सय ६० मा सातौ विकेट गुमायो । धनगढीका लागि विक्रम ठगुन्नाले चार विकेट लिए ।

जवाफमा धनगढी २० ओभरमा ८ विकेट गुमाउदा एक सय ३० रनमा रोकियो । सात रनमा पहिलो विकेट गुमाएको धनगढीका लागि सुनिल धमलाले ३४ तथा दिपेन्द्र सिंह ऐरीले २६ रन बनाए । ६३ रन हुदा महत्वपुर्ण चार विकेट गुमाएको धनगढीलाई दिपेन्द्र र रोशन अधिकारीले सम्हाल्न प्रयास गरेपनि सफल भएनन ।

रोशनले १७ रनमा आउट भए । अन्य खेलाडीमा विजय रानाले १३ रन थपे पनि अरु सस्तैमा आउट भए । धनगढीलाई कम स्कोरमा रोक्न शक्ति गौचनले तीन तथा सोमपाल कामीले दुई विकेट लिए ।

Comments:

comments

Latest News